अराजक सपना..

=============================
प्यारो चित्रकार ,
मेरो सरीरका अंग अंगबाट
लैजाउ एलानी रंगहरु
जात,धर्म,नश्ल र भाषाको
मेरो मस्तिस्कभरि कोचिएका
सिमानाको नशा र संकीर्णताको
धर्मको अहंकार र नस्ल विभेदको 
आधुनिक मान्छे हुनुको
नाङ्गो अभिमानको ....!!!
म पसारिने छु रंग दानी भएर
तिम्रो क्यानभाष अगाडी
मात्र एउटा चित्र कोर यो धर्तीको
जहा मान्छे उड्न सकुन पखेटा फैलाएर
सीमाहीन आकाशमा चरा उडे जस्तै
म प्राग एतिहासिक यायबर जस्तै
घुम्न चाहन्छु यो पृथ्वीका
हरेक अध्यारा कुनाहरु
हरेक उज्याला गल्लि हरु !
++++++++++++++++++++++++++++


तिम्रो स्याहि दानी यदि
रित्तिएको छ भने ,
ऐ कबि !!
म एक अन्जुली रगत
तिमीलाई पैचो दिन तयार छु
बस एउटा कबिता लेखिदेउ
जुन कबिताले
भत्काओस दस गजाका सिमा स्तम्भ
र फैलिओस घाम का किरण झैँ
प्रत्यक मान्छेका संघारमा
नौलो बिहानी लिएर
अनि मान्छे हरु बोकेर निस्किउन
बिचारको एक इरेजर
मेटाउन सिमानाहरु
सिसाकलमले लेखेका बांगाटिंगा धर्सा मेटे झैँ
++++++++++++++++++++++++++++++++

प्रिय बादक
यदि भाचिएको छ भने तिम्रो बासुरी
तिमीलाई म मेरो नली हाड दिनेछु
पार प्वाल तातो झिरले
र सृजना गर एउटा गित
जुन गित गुन्गुनाउने छन्
प्रत्यक मान्छे हरुले
जो बाधिएका छन् देशका सिमाना भित्र
रंग,भाषा,जात र धर्मका जेल हरु भित्र
पिजडामा परेको पंक्षी झैँ

++++++++++++++++++++++++++++++++++++
पखेटा काटिएर बुढो सिमल को हाँगोमा
झोक्राएको ऐ चेतक
मलाइ प्रतिक्ष्याछ
तिम्रो नयाँ एक जोर पखेटाको
जसका प्रत्यक प्वाख
सीमाहीन सपनाका तन्तुले बन्ने छन्
यो सुन्दर चित्र देखाउनुछ तिमीले
यो गित र कबिता सुनाउनुछ तिमीले
ति सारा मान्छेहरुलाई
जो सीमाहीन धर्ति को कल्पना गर्दै
उड्न चाहन्छन तिमि जस्तै,

+++++++++++++++++++++++++++++++
मलाइ बादल झैँ उडेर जानु छ
“चे”का चिहानहरुमा
र सिन्चिनु छ
ओइलाउन थालेका
जंगली फूल हरु !!
मलाई हेर्नु छ,
नयाँ बिश्व पाठशालामा
रमाई रहेका बिद्यार्थी
जसले बनाउनु पर्ने छैन
परिक्षामा,
धर्सै धर्साले रेटिएको पृथ्वी
******************************************
आबु धाबी १२/०१/२०१३